चेम्बर पदाधिकारी र पाकिस्तानी राजदूतबीच भेटवार्ता

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठसहितका पदाधिकारी र नेपालका लागि पाकिस्तानी राजदूत हैदर शाहबीच भेटवार्ता भएको छ । चेम्बर भवन कान्तिपथमा बुधबार भएको भेटमा दुई देशबीच आर्थिक सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको छ ।

छलफलमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा औद्योगिक तथा व्यावसायिक वातावरण बनाउन चेम्बरले नेतृत्वदायी भूमिका खेलेको जानकारी गराउनुभयो । उहाँले नेपाली उद्योगी व्यवसायीहरू पाकिस्तानसँग आर्थिक सम्बन्ध विस्तार गर्न इच्छुक रहेको बताउँदै नेपालमा लगानी गर्न आग्रह गर्नुभयो । नेपालमा जलविद्युत, पर्यटन, कृषि, जडिबुटी, खानी लगायतका क्षेत्रमा लगानीकर्ता आकर्षित गर्न उहाँले राजदूत शाहलाई सुझाव दिनुभयो । चीनले नेपाललाई आठ हजार बस्तुहरूमा दिएको भन्सार सुविधाका कारण पनि नेपालमा लगानीको उपयुक्त वातावरण रहेको उहाँले जानकारी गराउनुभयो । अध्यक्ष श्रेष्ठले व्यावसायिक वातावरण विस्तार गर्न नेपाली र पाकिस्तानी व्यवसायीबीच ‘बायर्स—सेलर्स मिट’ गर्न प्रस्ताव गर्नुभयो ।

नेपालका लागि पाकिस्तानका राजदूत शाहले पाकिस्तानले नेपालसँग विभिन्न क्षेत्रमा सम्बन्ध स्थापित गर्न चाहिरहेको जानकारी दिँदै चेम्बरजस्ता निजी क्षेत्रका संस्थाहरूले उल्लेखनीय भूमिका निर्वाह गर्न सक्ने उल्लेख गर्नुभयो । पाकिस्तानी राजदूतले नेपालमा लगानीका सम्भावना र प्रमुख क्षेत्रहरूबारे चासो व्यक्त गर्नुभएको थियो । चेम्बर पदाधिकारी र राजदूतबीच दुई देशका बीचमा रहेका व्यापारिक कठिनाईका बारेमा पनि विवेचना भएको छ ।