फागुन १३ देखि १७ गतेसम्म पाँचौं चेम्बर एक्स्पो २०२०

नेपाल चेम्बर अफ कमर्शको आयोजनामा आगामी फागुन १३ देखि १७ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी मार्ग काठमाण्डौंमा पाँचौं संस्करणको नेपाल चेम्बर एक्स्पो २०२० आयोजना गरिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्य तथा इभेण्ट सोलुसन प्रालिको व्यवस्थापनमा आयोजना हुने मेलाले अन्तर्राष्ट्रिय मुलुकबाट प्रविधि तथा लगानी भित्र्याउँदे मुलुकको आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।


मुलुक आर्थिक सम्बृद्धितर्फ उन्मुख भैरहेको अवस्थामा दिनहु व्यापार घाटा चुलिँदै गएको विदितै छ । मुलुकको समग्र विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य छ । चुलिँदै गइरहेको व्यापार घाटा न्युनिकरण गर्दै आर्थिक कृयाकलापलाई तिब्र गतिमा चलायमान बनाउन निजी क्षेत्रको सक्रियता महत्वपुर्ण हुनेमा दुई मत छैन ।


यस्तो अवस्थामा देशको समग्र विकास निजी क्षेत्रको सशक्तिकरणबाट मात्र सम्भव हुने मुलमन्त्र सहित पाँचौ संस्करणको मेला आयोजना गर्न लागिएको हो ।

निर्यात प्रवद्र्धन, वैदेशिक लगानी आकर्षण र अन्तर्राष्ट्रिय आर्थिक संगठनहरुमा सहभागितासंग केन्द्रित क्रियाकलाप नै आर्थिक कूटनीतिको उद्धेश्य हो । पछिल्ला चार संस्करणहरूको सफलता पुर्वक आयोजना गरी सके पछि नेपाल चेम्बर अफ कमर्शले मेलाको पाँचौं संस्करणमा व्यापारिक अन्तक्र्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारिकरणमा विशेष जोड दिएको छ ।

यान्त्रिक तथा उपकरणको बृहत प्रदर्शनीलाई समेट्ने मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक क्रियाकलाप, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीहरूलाई सहयोग मिल्ने आयोजकको विश्वास छ ।

गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हित सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिने छ । निकासी अभिवृद्धि गर्ने उदेश्य लिई नेपाल चेम्बर अफ कमर्शले यस प्रदर्शनी मार्फत निकासीयोग्य वस्तुको प्रवद्र्घन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहल कदमी समेत लिने उदेश्य राखेको छ ।

 

विगत वर्षका मेलामा जस्तै पाँचौ संस्करणको मेलामा पनि विभिन्न मुलुकहरुबाट उद्येगी व्यवसायी तथा तिनका छाता संगठनहरुले सहभागिता जनाउने छन् । यसले नेपालको उद्योग तथा व्यवसाय प्रवद्र्धनका साथै पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने विश्वास लिइएको छ ।

यान्त्रिक तथा उपकरणको बृहत प्रदर्शनीसँगै मेलामा अटोमोबाइल, विद्युतीय उपकरण, फ्लोरिङ तथा फर्निसिङ, होम अप्लाइन्सेज, फेसन वेयर एण्ड एकसेसरिज, मोबाइल तथा ग्याजेट लगायत विधाका उत्पादन तथा सेवाहरु आकर्षणका रुपमा रहने छन् ।

 

मेलामा १५० भन्दा बढी प्रदर्शनी कक्षहरु रहने छन् जस्मा ९० वटा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनीहरू तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहने छ । नेपाल लगायत भारत, म्यानमार, थाइल्याण्ड, पाकिस्तान, बङ्गलादेश, चिन, कोरिया, जापान तथा अन्य मुलुकमा उत्पादित सामग्रीहरू एक्स्पोमा रहने छन् ।

राष्ट्र भूषण चाकुबाजी
सभापति मेला समिति
नेपाल चेम्बर अफ कमर्श